समाचार

अहिले प्रदेश १ र गण्डकी प्रदेशका स्थानमा भारी वर्षा

१६ भदौ, काठमाडौं । देशको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुइ स्थानहरूमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती , गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने बताइएको छ।

हाल मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको पूर्वी र मध्य भू-भाग नजिक रहेको छ।