१८ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको हो ।
विवाद समाधानका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राहत पुग्ने गरी ६ बुँदे प्रस्ताव अघि सारेर नेकपाको पोलिटिकल कोर्सलाई टर्न गराएका उपाध्यक्ष वामदेव गौतमले एकाएक राष्ट्रियसभा सदस्यमा दावेदारी गरेपछि पार्टीभित्रको विवाद फेरि बढेको छ ।
गौतमले आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने माग तेर्स्याएका छन् । उनले आफू सरकारमा सहभागी हुने इच्छा पनि व्यक्त गरेका छन् । आजको बैठकमा राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई लैजाने विषयमाथि छलफल हुनेछ ।
बुधवार बेलुकी प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा सचिवालय बैठकबाटै निष्कर्षमा पुग्ने सहमति भएको थियो। सचिवालयका अधिकांश सदस्यहरु गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने अडानमा छन् ।
तर, ओली भने रिक्त पदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडलाई दोह¥याउने पक्षमा छन् । अर्थमन्त्री खतिवडा सांसद बिहीन भएको २० गते ६ महिना पुग्दैछ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मननोयन गर्ने एक सिट रिक्त छ । उक्त पदमा गौतमलाई सिफारिस गरे खतिवडा सरकारबाट बाहिरिने छन् ।
यसर्थ गौतमलाई फकाउने कसरतमा ओली लागेका हुन् । बुधवार साँझ पनि ओलीले गौतमसँग एक घण्टा छलफल गरेका थिए । केही दिनअघि भेटमा ओलीले गौतमलाई डोल्पाबाट प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेका थिए ।
तर, गौतमले राष्ट्रिय सभामा नै जाने इच्छा राखेका छन् । केही दिन अघिको एक अन्तर्वार्तामा ओलीले गौतमलाई प्रतिनिधिसभाबाट चुनाव उठाउने सहमति भएपछि राष्ट्रिय सभामा जाने विषयको च्याप्टर क्लोज भइसकेको बताएका थिए ।
त्यसपछि गौतमले आफू राष्ट्रिय सभामा जाने घोषणा गरेका थिए । ओलीले गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा लैजाने विकल्पमा समेत छलफल गरिरहेको नेताहरु बताउँछन् । त्यस्तै, आजको सचिवालय बैठकमा विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल हुनेछ ।





