२ कार्तिक, काठमाडौं । मध्यरातमा उदयपुरको एक स्थानमा स्कारपियोको भयानक दुर्घटना भएको छ । उदयपुरको कटारी नगरपालिका १४ भदौरे भीरमा गएराति स्कारपिओ दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० प ७१७१ नम्बरको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा दुर्घटना भएको हो ।
स्कारपिओ सकडबाट १ किलोमिटर तल खसेको डीएसपी गौतमले बताएका छन् । मृतकमध्ये ओखलढुंगा मानेभञ्ज्याङ ९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको पहिचान खुलेपनि अन्यको पहिचान खुलेको छैन ।
घाइते हुनेमा ओखलढुंगाको माने भञ्याङकै कुमारी सार्की, कल्पना सार्की र चालक पनव खड्का छन् । मृतक र घाइते आफन्त भएको खुलेको छ । उनीहरु दसैं मान्नका लागि घर जान लागेको अवस्थामा दुर्घटना भएको बताइएको छ ।





