समाचार

चितवन युवा उद्यमी मञ्चको उत्प्रेरणा कार्यक्रम सम्पन्न

१९ मङ्सिर, चितवन । चितवन उद्योग सङ्घ युवा उद्यमी मञ्चको आयोजनामा युवा उद्यमी मञ्चका नयाँ सदस्यका लागि अनुशिक्षण तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम आज सम्पन्न गरिएको छ ।

सो अवसरमा प्रमुख अतिथि नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष एवं चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले उद्योगलाई विस्तार गरेर उत्पादन बढाउनुपर्नेमा जोड दिए । युवा उद्यमीले बजार विस्तार गर्दै विदेशबाट आउने उत्पादनलाई प्रतिस्थापन गर्नुपर्ने बताए। आफूले बेलायतमा अध्ययनका क्रममा एक पाउण्डमा काम गरेको स्मरण गराउँदै उनले भने“बजार सञ्जाल, उत्पादनमा विविधता र लगनशीलता हुनु पर्दछ ।”

संघका अध्यक्ष राजु पौडेल, निवर्तमान अध्यक्ष भेषराज दुवाडी, मञ्चका अध्यक्ष अमर घिमिरे, नवलपुर उद्योग सङ्घका महासचिव केवी राना, चितवन उद्योग सङ्घका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेललगायतले आफ्नो अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशील युवा उद्यमीको सहभागिता रहेको थियो ।