१६ पुष, काठमाडौं । नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन् । उखु किसानको बक्यौता तिर्न रहेका चिनी मिलका संचालकविरुद्ध सरकारले पक्राउ पूर्जी जारी गरेपछि फरार रहेका अग्रवाललाई बिहीबार बिहान वीरगन्जबाट प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको अपराध महाशखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी अग्रवाललाइ पक्राउ गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक धिरज प्रताप सिंहले अपराध महाशाखा बानेश्वरको आग्रहमा पर्सा प्रहरीले अग्रवाललाई वीरगन्जबाट पक्राउ गरेको जानकारी दिएका छन् । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने आवश्यक अनुसन्धानका लागि अग्रवाललाई प्रहरी कार्यालयमा बोलाइएको बताइन् ।
नवलपरासीको सुनवल स्थित लूम्बीनी चिनी मिल सुशिला गोयलको नाममा दर्ता छ । तर अंशबन्डा हुँदा सुशिलाका जेठाजू मनोज अग्रवालको भागमा चिनी मिल परेको थियो । यसअघि चिनी मिलको स्वामित्व विवाद हुँदा उखु किसानको रकम बक्यौता रहन गएको चिनी मिल व्यवस्थापनले जनाएको थियो । लुम्बिनी चिनी मिलले उखु किसानलाई करिब १७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।





