पु.समाचार

उपत्यकामा वायु प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्योः केहि दिन मर्निङ वाक नगर्नु

२२ पुष, काठमाडौं । पछिल्लो केहिदिन देखी काठमाडौं उपत्यकाको वायु प्रदुषणको मात्रा दुई गुणा बढेको छ । मौसम परिवर्तनका कारण वायु प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारीले एक अपिल जारी गर्दै केहिदिन मर्निङ वाकमा ननिस्कन अपिल गरेका छन् ।

“केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ,” उनले भनेका छन्, “यसले श्वासप्रश्वासमा कठिनाईलगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्दछ । वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई मध्यनगर गरी नेपाल सरकारले मापदण्डहरु तोक्न सक्ने व्यवस्था जनस्वास्थ्य सेवा ऐन २०७५को दफा ४० मा गरिएको छ । उक्त व्यवस्थाअनुसार मापदण्डहरु तोकी नसकिएको र हालको वायु प्रदुषणको अवस्थालाई मध्यनजर गरी आकस्मिकरुपमा निम्नअनुसारका काम गर्नुहुन सरोकारवाला सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।”

यस्तै मर्निङवाक जाने वा घर बाहिर गएर शारिरीक व्यायाम गरिएको भए नगर्न, फोहर वा कुनै पलास्टीक जन्य बस्तु नजलाउन, सकभर घर बाहिर ननिस्कन वा निस्कनै परे कोरोना सम्बन्धी स्वास्थ्य मापदण्ड पुरा गर्न, धुलो धुँवा उड्ने खालका पेसा व्यवसाय केहिदिन नगर्न सम्पुर्ण नागरिकमा अपिल गरेका छन् ।