लुम्बिनी

विद्यालयको अतिक्रमित जमीन फिर्ता

७ माघ, राँझा / नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित आदर्श माविको अतिक्रमित जमीन पूर्णरुपमा फिर्ता आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० कार्यालयको पहलमा विद्यालय क्षेत्रमा बसोवास गर्दै आएका सुकुम्वासीलाई बस्ती व्यवस्थापन गरेपश्चात् अतिक्रमित जमीन पूर्णरुपमा विद्यालयको स्वामित्वमा आएको हो ।
डेढ दशकदेखि रहेको अतिक्रमण समस्या सुल्झिएको नेपालगञ्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्कीले बताए । उनका अनुसार, विद्यालयको जमीनमा बसोवास गर्दै आएका सुकुम्वासीलाई वडा कार्यालयको पहलमा बस्ती व्यवस्थापन गरिए पश्चात वर्षौंदेखिको समस्या सुल्झिएको हो । विद्यालयको जग्गामा रहेका घर भत्काएसँगै अतिक्रमित जमीन पूर्णरुपमा फिर्ता आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित गायत्रीनगरको कित्ता नम्बर २, ३ र ८ को तीन बिघा सात कट्ठा १४ धुर जग्गा सुकुम्वासीले अतिक्रमण गरेर बस्दै आएका थिए । विद्यालयको नाममा लालपुर्जा भए पनि द्वन्द्वकालमा बसेकाले अतिक्रमण छोड्न नमानिरहेको अवस्थामा वडा कार्यालयले उनीहरुलाई व्यवस्थापन गरेपश्चात् अतिक्रमित जमीन विद्यालयले प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले बताए ।
उनका अनुसार, अतिक्रमित जमीन फिर्ता आएसँगै अब संरचना भत्काएर खेल मैदानका रुपमा विस्तार गर्न लागिएको छ । “सुकुम्वासीका नाममा केही व्यक्तिले घर, टहरा बनाई जग्गा अतिक्रमण गरेर बसेका कारण समस्या भएको थियो”, प्रधानाध्यापक आचार्य भने, “अतिक्रमित जग्गा वडा कार्यालयको पहलमा फिर्ता आएसँगै अब विद्यालयको भौतिक एवं सर्वपक्षीय विकासमा सहजता भएको छ ।” विद्यालयको जग्गामा रहेका ७१ घरधुरीलाई वडा कार्यालयको पहलमा अन्यत्रै स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिए पनि अतिक्रमित जग्गा छाड्न नमानेका सात घर भत्काइएको वडासदस्य चक्र बुढाले जानकारी दिए ।
उनका अनुसार, विसं २००९ मा घरगोठबाट शुरु भएको विद्यालयले विसं २०१६ मा स्वीकृति पाएको थियो । विद्यालय बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका राममिलन बर्माले गाउँ पञ्चायत अध्यक्ष हुँदा विसं २०३६ मा उक्त ऐलानी जग्गा विद्यालयलाई दिएका थिए । त्योसहित विद्यालयको नाममा नौ बिघा १८ कट्ठा पाँच धुर जग्गा दर्ता छ । विद्यालयको मुख्य भवन राँझाचोकमै रहेको छ ।