पु.समाचार

सुरु भयो कोरोना विरुद्धको खोप अभियानः आज देशभरीका १२ हजरलाई दिईने

१४ माघ, काठमाडौं । आजदेखी नेपालमा कोरोना विरुद्धकाे खोप अभियान सुरु भएको छ । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि यसविरुद्धको खोप अभियान आजदेखी सुरु भएको हो ।

आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खाेप अभीयानकाे सुभारम्भ गरेका हुन् । यस्तै टेकु अस्पतालका कार्यकारी निर्देशक सागरराज भण्डारीले पहिलो खोप लगाएर खोपको सुभारम्भ भएको हो ।

अभियान सुरु भएसँगै सातै प्रदेशमा खोप लगाउन सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाउन सुरु गरिएको छ । आज देशभरका ६२ अस्पतालमा रहेका १२० खोप केन्द्रबाट १२ हजारलाई खोप प्रदान गरिने बताइएको छ ।

यस्तै काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

नेपालमा अक्स्फोर्ड-एस्ट्राजेनेकाले विकास गरेको खोप तथा भारतको औषधी उत्पादक कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग गर्न थालिएको हो ।

पहिलो चरणमा भारतले १० लाख डोज उपहारस्वरुप दिएको खोप लगाउन थालिएको हो ।पहिलो चरणको खोप अभियान १० दिनमा सम्पन्न गर्ने सरकारको योजना छ ।