पु.समाचार

संसद बिघटन बिरुद्ध उत्रिएको दाहाल-नेपाल पक्षको केन्द्रीय समिति बैठक आज

१९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने कार्यसूची छ । नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो । यसैबीच नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आईतबार माइतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएको थियो ।

धर्नामा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठ लगायत विघटित प्रतिनिधिसभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।