पु.समाचार

कांग्रेसद्वारा वर्थिङ सेन्टरलाई व्यवस्थित गर्न माग

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले महिलाको प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न तथा वर्थिङ सेन्टरलाई व्यवस्थित गरी मातृशिशु मृत्यदर कम गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय महिला विभागको गत फागुन २९ र यही चैत १ गतेसम्म सञ्चालित वाग्मती प्रदेशस्तरीय महिला भेलाले प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिएता पनि पूर्णरुपले कार्यान्वयन हुन नसकेको भन्दै सो माग गरेको हो ।
बढ्दो महिला हत्या हिंसा, बलात्कारजस्ता जघन्य अपराध नियन्त्रणका लागि सबै संलग्न अपराधिलाई कानूनको कठघरामा उभ्याउन र दण्डहीनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानूनको कठोर कार्यान्वयनका लागि समेत भेलाले माग गरेको छ ।
बालिकालाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमपछि जारी घोषणापत्रमा उल्लेख छ । पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा र सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाई महिला पदाधिकारी अनिवार्य हुनुपर्ने समेत माग गरेको छ ।