समाचार

ठेकेदार-मजदुर सहमतिपछि बुटवल-नारायणगढ सडक विस्तारको काम पुनः शुरु

नवलपुर, १८ चैत । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल-नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि मङ्गलबारबाट पुनः शुरु भएको हो ।

सडकखण्ड विस्तारका लागि काममा खटिएका मजदुरले तेल तथा माटो चोरी गरेर बिक्री गरेको आरोपमा दुवै पक्षबीच कुटपिट हुँदा मजदुरले काम ठप्प पारेका थिए । बुटवल- नारायणगढ सडक विस्तारको काम भइरहेको अवस्थामा खण्ड ‘क’ मा कार्यरत मजदुरले तेल तथा माटो चोरी गरेको भन्दै ठेकेदार पक्षले मजदुर निकालेको थियो ।

मजदुर निकालिएपछि देवचुली नगरपालिकास्थित रजहरमा रहेको ठेकेदार पक्षको साइट कार्यालयमा निर्माण पक्षले छलफलमा बोलाएर मजदुरलाई कुटपिट गरेको भन्दै मजदुर काममा गएका थिएनन् । कुटपिटको विषयमा दुवै पक्षबीच सहमति भएर मङ्गलबारबाट काम सञ्चालन भएको आयोजनाले जनाएको छ ।

“मजदुर र ठेकेदार दुवै पक्षबाट कुटपिट भएकाले अबदेखि कुटपिटमा नउत्रिने भन्ने सहमति भएको छ”, आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भने, “निर्माणमा प्रयोग भएको सामग्री चोरीको विषयमा भने प्रहरीले अनुसन्धान गर्ने सहमति भएको छ ।” कुटपिटको विषयमा दुवै पक्षले प्रहरीमा उजुरी गरेका थिए । उजुरीपछि दुवै पक्षलाई छलफलमा राखेर सहमति गरिएको अचार्यले बताउनुभयो ।

“दोहोरो कुटपिट भएको हुँदा दुवै पक्षका मानिस घाइते भएका थिए”, आचार्यले भने, “उनीहरुले आफूलाई सही र अर्को पक्षलाई गलत भन्दै आएका थिए तर सहमति गराएर काममा फर्काएका छौँ ।

” मजदुरलाई काम चाहिएको तथा ठेकेदार पक्षलाई आयोजनाको काम छिटो सम्पन्न गर्नुपर्ने अवस्था रहेका कारण पनि सहमति भएर सडक विस्तारको काम अगाडि बढेको आचार्यको भनाइ छ । आयोजनामा प्रयोग हुने सामग्री चोरी हुन नहुने भन्दै चोरी भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको आचार्यले बताए ।

“चोरीको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ”, आचार्यले भने, “अनुसन्धानका क्रममा दोषी देखिएका व्यक्तिलाई कानूनअनुसार कारवाही गर्नसमेत सहमति भएको छ ।” आयोजनाको खण्ड ‘क’ का विभिन्न स्थानमा करिब ४०० मजदुरले सडक विस्तारको काम गर्दै आएका थिए ।

सडक विस्तार आयोजनाको काम मजदुरले दोस्रोपटक बन्द गरेका हुन् । यसअघि तीन महिना पहिले पनि ठेकेदार कम्पनीले श्रम कानूनअनुसार व्यवहार नगरेको भन्दै मजदुरले हड्ताल गर्दा सडक विस्तारको काम प्रभावित बनेको थियो । यसअघि मजदुरको आन्दोलनका कारण रोकिएको काम एक हप्तापछि सम्झौता भएर पुनः अगाडि बढेको थियो । विभिन्न अवरोधका कारण सो सडक विस्तारको कामले गति लिनसकेको छैन ।

आयोजनाको काम शुरु भएको दुई वर्ष बितिसक्दा भौतिक प्रगति चार प्रतिशत मात्रै देखिएको बुटवल-नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले बताए । आयोजनाको बाँकी रहेको ९६ प्रतिशत काम आगामी १८ महिनाभित्र सम्पन्न गर्न चुनौती भएको दिष्टीको भनाइ छ । कोभिडका कारण काम प्रभावित भएकाले केही महिना थप हुनसक्ने भए पनि निर्माण सम्पन्न गर्न त्यो समय पर्याप्त नहुने उनले बताए ।

तत्कालीन राजा महेन्द्रबाट विसं २०१९ वैशाख १ गते उद्घाटन भएको दुई लेनको पूर्वपश्चिम राजमार्गको यस सडक विस्तार गरेर चार लेनको बनाइँदैछ । विस्तारको काम ४२ महिनामा सक्नुपर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते सडक विस्तार आयोजनाको शिलान्यास गरेका थिए ।

बुटवल-नारायणगढ खण्डको ११५ किलोमिटर सडकमध्ये गैँडाकोट–दाउन्ने खण्डको ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेबाट बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो । ग्लोबल टेण्डरमार्फत दुवै खण्डको निर्माणको जिम्मा चीनको निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कम्पनीले पाएको छ ।

बुटवल–नारायणगढ सडकखण्ड विस्तारको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । एशियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तारको काम अगाडि बढेको हो । सडक विस्तारपछि शहरी क्षेत्रमा चार लेनका अतिरिक्त छ/छ मिटरको सर्भिस लेनसमेत निर्माण हुनेछ भने दाउन्ने क्षेत्रमा तीन लेनमा सडक विस्तार गरिनेछ ।