पु.समाचार

नेपाल-खनाल समुहले लियो मुख्यमन्त्री पौडेल बिरुद्धको अविश्वास प्रस्ताव फिर्ता

१८ चैत्र, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका खनाल-नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् ।

खनाल-नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताएका छन् ।

यसअघि एमालेको खनाल-नेपाल समूहका २२ सांसद र माओवादी केन्द्रका २३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध गएको पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

माओवादी र एमालेका खनाल-नेपाल समूहका सांसदले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । वाग्मतीमा ५७ सांसद रहेको एमालेको एकल बहुमत छ । वाग्मतीमा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ ।