काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद अधिवेशन अन्त्य गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली देशलाई मध्यावधिमा धकेन्न जुनसुकै हत्कण्डा अपनाउन तयार भएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ओली यो संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हत्कण्डा अपनाउन तयार भएका छन् । ओलीको यो क्रियाकलापले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको छ ।’
जनमोर्चाले संसदलाई विजनेस नदिइ अन्त्य गरेर ओली सरकार निरंकुश बनेको आरोप लगाएको छ । संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ सरकार प्रमुखको नाताले प्रधानमन्त्रीले दिनुपर्नेमा जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न समेत नदिएरै हतारमा संसद अधिवेशनको अन्त गरेर ओलीले अधिनायकवादी तथा निरंकुश कदम चालेको जनमोर्चाको आरोप छ । प्रधानमन्त्री ओलीका गतिविधिले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको समेत बताइएको छ ।





