बाग्मती

वाग्मतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान २ः३० बाट सुरु हुँदै

१९ मंसिर, काठमाडौं । शनिबार सम्पन्न नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरेका छन् । यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाएका छन् । अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेको  निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिएका छन् ।

मतदानमा दुई हजार ८३ जना मतदाताले भाग लिएको उक्त अधिवेशनमा जम्मा १० मत बदर भएको छ, भने सभापतिमा १२ जनाले कसैलाई पनि मत नदिभएको निर्वाचन समितिले जानकारी दिएको छ । नेपाली कांग्रेसको विधान बमोजिम विजयी हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेकाले आज पुनः मतदान हुने भएको छ ।

आज अपरान्ह २ः३०० बजेसम्म मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत काफ्लेले जानकारी दिएका छन् । यसैबीच, सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन् । केहीबेर अघि हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने बताएका हुन् ।

घोषणाअनुरुप आफू र आफ्ना सबै समर्थकले बानियाँलाई मतदान गर्ने प्रधानले विश्वास व्यक्त गरेको नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जानकारी दिएका छन् । प्रदेश अधिवेशनमा दुई हजार १५१ प्रतिनिधि सहभागी छन् ।