पत्रपत्रिका

यसरी हुँदोरहेका हत्या, झोलामा प्याक गरेर फ्यालिएको ४३ बर्षीया सिक्देलको शवको पहिचान !

१० फागुन, विराटनगर । हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर जंगलमा फ्यालिएको शवको एक सातापछि पहिचान खुलेको छ। हत्या गरिएका व्यक्ति झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दीपक सिग्देल रहेको पुष्टि भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।
सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डमा उनको लास भेटिएको थियो। राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट सिग्देलको पुरानो घर इलामको बाँझोमा रहेको खुलेको छ। सिग्देल परिवार केही वर्षअघि मात्रै दमकमा बसाइँ सरेर आएको पत्ता लागेको छ।

प्रहरीका अनुसार हत्या गरिएका सिग्देल वैदेशिक रोजगारीका लागि बहराईन पुगेर नेपाल फर्किएका थिए। उनको हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन। हत्यामा उनकै परिवारका सदस्यको संलग्नता रहेको बताइएको छ। घटनामा अरुको पनि संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको प्रहरी स्रोतले बतायो।
सिग्देलको हत्या कहिले भएको थियो भन्ने यकिन हुन बाँकी छ। तर मोरङमा हत्या गरेपछि शरीरलाई टुक्राटुक्रा बनाउँदै जेब्रा झोलामा राखेर शवलाई धरानको जंगलमा पुर्‍याएर फ्यालेको पाइएको बताइएको छ। प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप प्रमाण संकलनको काम भइरहेको छ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ तथा संघीय प्रहरी इकाई कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोली खटिएको थियो। हत्यामा संलग्नलाई मोरङबाट पक्राउ गरेर सुनसरी लगेको बताइए पनि प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन।

प्रहरीका अनुसार हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै अलग(अलग जेब्रा झोलामा प्याक गरेर फ्यालिएको अवस्थामा गत बुधबार र बिहीबार पुरुषको शव भेटिएको हो। घाँटीभन्दामाथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधबार भेटिएको थियो। भोलिपल्ट अर्थात बिहीबार करिब १ किलोमिटरमाथि जीउ र अन्य अंगहरु प्याक गरिएको अर्को झोला पनि भेटियो।
कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा अलगअलग जेब्रा झोलामा शवका टुक्रा भेटिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान अघि बढाएको थियो। ‘निक्कै मिहिनेत गरेर शवको सनाखत गर्न सफल भइयो,’ प्रहरी स्रोतले भन्यो, ‘हत्यामा संलग्न दुई जनालाई पनि पक्राउ गरिसकिएको छ।’ प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ। अन्नपूर्णपोष्टबाट