प्रदेश 2

जनकपुरधामको सहिदद्वार उद्घाटन


२८ फागुन, धनुषा । जनकपुर ढल्केबर छ लेन सडक आयोजना अन्तर्गत मुजेलियामा जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको सहिदद्वार शुक्रबार साँझ प्रयोगमा आएको छ । उपमहानगरपालिकाको करिब रु साढे चार करोडको लागतमा निर्माण गरिएको सहिदद्वार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उद्घाटन गरे ।

धनुष आकारको सहिदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा ताँदो चढाएको आकर्षक मूर्तिका साथै मधेस आन्दोलनका क्रममा शहादत भएका सहिद नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक राखिएको छ ।

ती सहिदको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो । यसैगरी उक्त आन्दोलनका क्रममा शहादत भएका अन्य  ११६ मधेसी सहिदको नाउँ पनि शिलापत्रमा कोरिएको छ । निकै भव्य र आकर्षकस्वरुपमा निर्माण सहिदद्वार निर्माण भएको छ । जनकपुरधामको गरिमालाई झल्काउने उक्त द्वारको सोही दिन साँझ धार्मिक अनुष्ठान पनि गरिएको थियो ।