खेलकुद

दुवाथलनको उपाधी हिमाल र हिराकुलाई


२० चैत, काठमाडौँ । नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एशिया ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलनको उपाधी जित्न सफल भएका छन् ।
टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २.५ किलोमिटर रनिङ्गको दुरी हिमालले ४५ मिनट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् ।
नेपाल ट्राईयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुष तर्फ मानबहादुर थापा मगर दोश्रो र बशन्त थारु तेश्रो भए । मानबहादुरले ५५ मिनट १.०७ सेकेन्डमा र थारुले ५८ मिनट २५.३१ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै महिला तर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनट ५६.८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेवाङ्गले १ घन्टा ७ मिनट ३३.९४ सेकेन्डमा दुरी पार गर्दै रजत र कास्य पाए ।
बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेश साँसद एवं नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोईराला, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङ्ग, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, खेलकुद पत्रकार केशव पाठक लगायतले पुरस्कार वितरण गरेका थिए ।