स्वास्थ्य

स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर


२४ चैत, चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो ।

सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ ।

सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् । तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उनको भनाइ छ । नियमितरुपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको सङ्ख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् ।

वार्षिकरुपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भने, “अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।” क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन् । जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुके क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन् । त्यही आउने बिरामी र कुरुवाले ती होटल चलेका छन् । त्यहाँ आफैँ पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ ।

भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको जनाउँदै उनले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको उनको भनाइ छ । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुकेले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताए ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी राजधानीमा हुने उपचार यही हुने भएपछि छिमेकी जिल्लाबाट धेरै बिरामी उपचारका लागि आउँदा होटल रेष्टुराँको व्यवसाय राम्रो भएको बताउछन्। यहाँका होटल रेष्टुराँको मुख्य आम्दानी स्वास्थ्य पर्यटक बन्दै गएको सुवेदीको भनाइ छ । देशैभरबाट र भारतबाट समेत बिरामी उपचार गर्न आउने गरेको जनाउँदै उनले आउँदा दिनमा स्वास्थ्य पर्यटकको सङ्ख्या अरु थपिने बताए । उनले चितवनमा सबैभन्दा धेरै धार्मिक पर्यटक आउने भए पनि आर्थिक हिसाबले स्वास्थ्य पर्यटक चितवनका लागि उपयुक्त भएको उनले बताए। उनले भने, “स्वास्थ्य पर्यटकको कुनै सिजन हुँदैन, सधैँभरि नै एकनासको भइरहन्छ ।”

भरतपुर क्षेत्रमा होटलसँग साना रेष्टुराँ धेरै चलेका छन् । दुई मेडिकल कलेजसँगै प्राविधिक कलेजमा पढ्न आउने ठूलो सङ्ख्याका विद्यार्थीका कारण पनि यहाँको आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको छ । रेष्टुराँ एण्ड बार एशोसिएशनका उपाध्यक्ष अनुसा पाठक यहाँका अस्पतालका बिरामी, कुरुवा, विद्यार्थी, चिकित्सक मुख्य सेवाग्राही भएको बताउछन् । भरतपुर क्षेत्रमा मात्रै २०० भन्दा बढी रेष्टुराँ खुलेको जनाउँदै उनले तिनीहरुको मुख्य आधार अस्पताल भएको बताए।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी उपचारका हिसाबले राजधानी पछिको दोस्रो गन्तव्य चितवन भएको बताउछन् । यहाँ उपचारका लागि आउने बिरामी र तिनका कुरुवा घुम्न आउने पर्यटकभन्दा धेरै रहेको भन्दै उनले उपचारपछि र कुर्नुपर्ने बेलामा घुम्नका लागि नजिकका गन्तव्यसँग जोड्नुपर्ने सुझाव दिए । उनले मेडिकल टुरिज्म र मेडिकल सिटीलाई जोडेर योजना बनाउनुपर्ने उनको धारणा छ ।

सरकारी दुई अस्पतालसँगै मेडिकल कलेज रिफरल बनेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पताल आउने ७० प्रतिशत हाराहारी बिरामी रिफरल हुने गरेको बताए । तीमध्ये आधाभन्दा बढी बाहिरी जिल्लाका हुने र उनीहरुको खाने बस्ने यहीँका होटल रेष्टुराँमा हुँदा अस्पतालमा गर्ने खर्चभन्दा बढी होटल रेष्टुराँमा हुने गरेको उनले बताए।