खेलकुद

मिनु र सन्जुमाया क्वाटरफाइनलमा


७ वैशाख, काठमाडौँ । नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

महिला ५१ किलो तौल समूहमा गुरुङले मङ्गलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेतासमेत हुन् । यस्तै सोही विधामा एपीएफकी सन्जुमाया थिङले प्रदेश नं १ की सुस्मिता श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छिन् ।

यस्तै महिला ५७ किलो तौल समूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश नं १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पराजित गरिन् । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् । यस्तै पुरुष ५२ किलो तौल समूहमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओलीलाई तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।