शिक्षा

‘नेपालका भाषा र सरकारी कामकाज’ विषयको पुस्तक सार्वजनिक


२३ वैशाख, काठमाडौँ । देशभरका स्थानीय तहमा बोलिने भाषाका विषयमा प्रकाश पारिएको पुस्तक ‘नेपालका भाषा र सरकारी कामकाज’ सार्वजनिक गरिएको छ ।

तथ्याङ्कअनुसार विश्वमा सात हजार १०० भन्दा धेरै भाषा बोलिन्छ । नेपालमा मात्र १४० भाषा बोलिन्छ । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भीमनारायण रेग्मीले त्यो जमर्को गरे ।

उनले नेपालको ७५३ स्थानीय तहमा बोलिने भाषासम्बन्धी तथ्याङ्क सङ्कलन गरेका छन् । “हामी तथ्याङ्कलाई कि त आँखा चिम्लेर विश्वास गर्छौ कि त आँखा चिम्लेर अविश्वास गर्छौँ, तथ्याङ्क सरल हुन्छ, त्यो निक्कै नै रोचक हुन्छ”, उनले भने।

लेखक रेग्मीले यो किताबमा नेपालका भाषासम्बन्धी तथ्याङ्कलाई निक्कै सरलीकरण गरिदिएका छन्। यो पुस्तकको अनुसन्धानमा काम गर्दै आइरहेको संस्था फ्याक्ट्स नेपालले प्रकाशन गरेको छ भने यसको वितरण वि–लिडरले गर्दै छ । तीन सय ३० पेजको यो पुस्तकको मूल्य रु एक हजार १०० तोकिएको छ ।

भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्पजस्ता अनुसन्धानपछि तार्किक तथा तथ्यपरक सामग्री यो किताबमा समेटिएको लेखक रेग्मीले बताए ।

यसमा ७५३ वटै तहमा बोलिने भाषासम्बन्धी विस्तृत तथ्याङ्क समेटिएको छ । यो पुस्तक किताब यात्रा, बुक–कर्नर, थुप्रै डट कमलगायत अनलाइनबाट पनि मगाउन सकिने जनाइएको छ ।