२४ वैशाख, काठमाडौँ । देशकै जेठो अखबार गोरखापत्रले विभिन्न आरोह अवरोहलाई छिचोल्दै आफ्नो १२२ औँ वर्षमा प्रवेश गरेको छ ।
मुलुकको परिवर्तित राजनीतिक, घटनाक्रम, सांस्कृतिक, सामाजिक, आर्थिक परिवेष्टको साक्षी बनेको गोरखापत्र राष्ट्र र जनताको समुन्नत तथा समृद्धिको सम्वाहक प्रकाशन पनि हो । अभिछिन्न यात्राका दौरानमा गोरखापत्रले पाठकमाझ पु¥याएको विश्वास, बफदारिता र जिम्मेवारीतालाई आधार मान्न सकिन्छ । अहिलेको डिजिटल प्रतिस्पर्धी बजारमा आफूलाई खरो रुपमा उचारेर समयानुकूल प्रकाशकीय सामग्री सम्प्रेषण गर्नु नै गोरखापत्रको अहिलेको अवसर र चुनौती दुवै हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की गोरखापत्रलाई अहिलेको डिजिटल प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय र समयसान्दर्भिक विषयवस्तुका साथ रुपान्तरण गरिनुपर्ने आवश्यकता औँल्याउँछन्।
गोरखापत्र प्रकाशनको १२२ औँ वर्ष प्रवेश तथा संस्थानको ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले गोरखापत्रले आफ्नो सोच, शैली र गतिलाई समयानुकूल परिवर्तन गरेर गोरखापत्रको इतिहास र गरिमा कायम गर्ने तथा समाज रुपान्तरणमा यसको भूमिका छ भन्ने पाठकवर्गमा विश्वास दिलाउन आग्रह गरे ।
देशकै पहिलो अखबार गोरखापत्र पत्रिकामा मात्र नभएर एउटा गौरवशाली संस्था पनि रहेको भन्दै मन्त्री उनले अब गोरखापत्रलाई कसरी अघि बढाउने बहस प्रारम्भ भएको उल्लेख गरे । “एशियामा विरलै पाइन्छ, यति लामो समयसम्म अभिछिन्न रुपले निरन्तर प्रकाशित हुने पत्रिका, गोरखापत्र गौरवको संस्थामात्र नभई यो प्रतिष्ठानको पाठशालाको रुपमा समाजले बुझेको छ, समृद्ध साहित्य र भाषिक विविधताको धरोहरका रुपमा समाजले स्वीकारेको र इतिहासका धेरै कालखण्डमा गोरखापत्र हिमालजस्तै अटल उभिएको छ”, उनले भने। सञ्चारमन्त्री कार्कीले गोरखापत्र सरकारको पत्रिका नभई नेपाली जनताको पत्रिकाका रुपमा कसरी विकसित गर्न सकिन्छ, त्यसतर्फ पनि सबैको ध्यान जान जरुरी रहेको बताए ।
सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले गोरखापत्रले सरकारी सूचना मात्रै नभई आमनागरिकको चाहना र रुचिलाई पनि सम्बोधन गरिरहेको उल्लेख गरे । उनले नेपालभित्र बोलिने विभिन्न ३८ भाषामा प्रकाशन गरेर नेपाललाई बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो र यसले सबै भाषा संस्कृतिको सम्मान गर्छ भन्ने सन्देश दिएको बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले गोरखापत्र नेपाली पत्रकारिता जगत्को मार्गदर्शक संस्था हो भन्दै नेपालमा पत्रकारिताको इतिहास बोकेको संस्थालाई समयानुकूल परिवर्तन गर्न जरुरी भएको खाँचो औँल्याए । गोरखापत्र सरकारी मात्र नभई जनताको विश्वासिलो पत्रिका हो भन्ने चाहनालाई सार्थक तुल्याउन आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड र्दिए ।
गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रलाई इतिहासका सबैखाले उकाली ओराली बेहोरेको संस्थाले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै इतिहास तथा विरासतले समृद्ध गोरखापत्रलाई डिजिटल युगको प्रतिस्पर्धात्मक बजारमा उत्पादनलाई स्मार्ट बनाउन जरुरी भएको उल्लेख गरे । उनले अहिलेको बजारमा सबैभन्दा बढी चुनौती गोरखापत्रका प्रकाशनलाई प्रविधिको उच्चतम प्रयोग गरेर स्मार्ट प्रकाशन गर्नेतर्फ गोरखापत्रले आफूलाई परिमार्जित ढाँचामा अघि बढाएको जानकारी दिए । अध्यक्ष सुवेदीले गोरखापत्र र दि राइजिङ नेपालको स्वरुप परिमार्जन गरिएको बताए ।
गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले अहिलेको डिजिटल प्रतिस्पर्धी बजारमा डिजिटली र फिजिकली रुपमै गोरखापत्रलाई आम पाठकमाझ लैजाने प्रयत्न गरिएको उल्लेख गरे । उनले गोरखापत्रलाई समयानुकूल परिवर्तन गर्न बढो संवेदनशीलताका साथ अघि बढ्नुपर्ने भन्दै नागरिकसमक्ष गोरखापत्रप्रतिको विश्वास र पहुँच अभिवृद्धि गर्न मन्त्रालय, संस्थान तथा कर्मचारी सकारात्मक ढङ्गले लाग्ने विश्वास व्यक्त गरे । माइती नेपालका संस्थापक अनुराधा कोइरालाले गोरखापत्रको विश्वासलाई चिरकालसम्म रहनेगरी प्रकाशकीय सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा गोरखापत्र प्रकाशनको १२२ औँ अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका शुभकामना सन्देश पढेर सुनाइएको थियो । शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले गोरखापत्र एउटा पत्रिका मात्र नभई मुलुकको राजनीतिक र सामाजिक इतिहासको साक्षी भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपालको सम्भता, संस्कृति र साहित्यिको प्रवद्र्धन तथा नेपाली पत्रकारिताको संस्थागत विकासमा गोरखापत्रको विशिष्ट योगदान रहेको उल्लेख गरेका छन् ।
गोरखापत्रलाई अझ सन्तुलित, प्रतिस्पर्धी र व्यावसायिक बनाउन संस्थाका उत्पादनको अझै परिस्कृत गर्दै प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै संस्थाले वर्तमा नडिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गर्नुपर्ने शुभकामना सन्देशमा भनिएको छ । विसं १९५८ मा स्थापना भएको गोरखापत्रले हाल विभिन्न ३८ भाषामा प्रकाशन गर्दै आएको छ । गोरखापत्रको सहप्रकाशनका रुपमा राइजिङ नेपाल, मधुपर्क, मुना, युवा मञ्च, गोरखापत्र अनलाइन डिजिटल पोर्टल रहेका छन् । सरकारले गोरखापत्र प्रकाशन भएको मिति वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउँदै आएको छ ।





