समाचार

उद्योग व्यवसाय गर्ने वातावरण बनाउने नेतृत्व स्थानीय तहमा आउनुपर्ने


२४ वैशाख, काठमाडौँ । राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवालिम्बूले देशमा शान्ति र स्थायित्व कायम भए मात्र उद्योग व्यवसाय गर्ने वातावरण बन्ने बताएका छन् ।

महासङ्घको स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनले मुलुकको शान्ति र स्थायित्वका लागि स्थानीय तहदेखि नै वातावरण बनाउनुपर्ने बताएका हुन् ।

यही वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने नेतृत्वले उद्योग व्यवसायका लागि स्थानीय तहबाटै उचित वातावरण बनाउन सक्ने कार्यसूची भएको पार्टीलाई मतदान गर्नुपर्ने उनको भनाइ थियो ।

तत्कालीन नेकपा (एमाले) को नेतृत्वको सरकारका पालामा तराईमा सशस्त्र द्वन्द्व गरिरहेको सिके राउतको समूह, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलगायतलाई राजनीतिक धारमा आएर मुलुकमा शान्ति स्थापना भएको र मुलुकको दिगो शान्तिका लागि आगामी दिनमा पनि वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

महासङ्घका उपाध्यक्ष बालकृष्ण सिवाकोटीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा स्थानीय तहदेखि नै दिगो विकास र व्यवसायका लागि काम गर्ने नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरे । महासङ्घको सात वटै प्रदेश, ७७ जिल्ला, सबै पालिका र १० वस्तुगत सङ्घमा सञ्जाल रहेको जनाइएको छ ।