समाचार

वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद : अध्यक्ष ओली


२६ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज भृकुटीमण्डपमा जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदुरको लामो सङ्घर्षपछि मे दिवस मनाउन थालिएको उल्लेख गरे । पूर्वप्रधानमन्त्री ओलीले विभेद र अत्याचार भएपछि मजदुरहरु एकताबद्ध भएर आन्दोलन सुरु गरेको बताए । पुराना र नयाँ सहर श्रमिकको मिहिनेतबाट नै बनेको उनको भनाइ थियो । 

“मजदुरकै प्रयासका कारण सहर अहिलेको अवस्थामा आएका हुन्”, अध्यक्ष ओलीले भने । विगतदेखि नै श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच मालिकको पाइएको उनले बताए । सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए । शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन तथा उनीहरुलाई सम्मानजनक रुपमा बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उनको धारणा थियो । 

काठमाडौँ महानगर प्रमुखका उम्मेदवार केशव स्थापितले आफु प्रमुख हुँदा आधुनिक काठमाडौँ बनाउने, सडक चौडा गर्ने, माइतीघर मण्डला बनाउनेलगायत काम गरेको अध्यक्ष ओलीले बताए।