समाचार

श्रममन्त्री श्रेष्ठद्वारा दमौलीमा मतदान,भने, स्थानीय तहका जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ


३० वैशाख, दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान गरेका छन् । उनले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेका हुन् ।

मतदान गरेपछि राससकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्नेमा जोड दिए। जनप्रतिनिधि प्रशासक नभइ जनताको सेवकको रुपमा रहनुपर्ने उनको भनाइ थियो ।

सबैभन्दा तल्लो तहको सरकार भएकाले सिहंदरबार गाउँ–गाउँमा भन्ने नारालाई यथार्थमा उर्तानका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने मन्त्री श्रेष्ठले बताए । विगत पाँच वर्षको स्थानीय तहको कार्यकाल केही कमजोरीबाहेक सुखद रहेको उनले उल्लेख गरे ।

आजको महत्वपूर्ण दिनमा उत्साहपूर्ण रुपमा मतदानमा सहभागी हुन मन्त्री श्रेष्ठले आम जनतालाई आग्रह गरेका छन् ।