समाचार

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान : आयोग


३० वैशाख, काठमाडौँ । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताए। उनले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल खसेको मत यकिन सङ्ख्या र प्रतिशत प्राप्त भइनसकेको स्पष्ट पारे ।

वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको र खटिएका सुरक्षाकर्मी र कर्मचारीबाट आयोगलाई यथेष्ट सहयोग मिलेको बताउँदै प्रवक्ता शर्माले उनीहरु सबैलाई धन्यवाद दिए । एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफलपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिए ।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् ।