लुम्बिनी

तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै


६ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार ४८६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ । 

त्यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरीले  ६ हजार ९६१ मत प्राप्त गरेकी छिन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले पाँच हजार ९४७ मत प्राप्त गरेका छन् ।  हालसम्म १८ हजार १९३ मत गणना भएको छ । 

यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेसका वीरेन्द्रकुमार शाह एक हजार ७१५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पोख्रेलले एक हजार २१ मत प्राप्त गरेका छन् । 

यसअघि तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित भएका छन् । वडा नं २ बाट नेकपा (एमाले)का भीमबहादुर कवर योगी, तुलसीपुर–४ मा गठबन्धबाट माओवादीका तुलसी थापामगर निर्वाचित भइसकेका छन् । अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ३, ६ र ७ को मतगणना जारी छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदातामध्ये ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।