प्रदेश 2

महोत्तरीको गौशाला नगरपालिकामा जसपा विजयी


७ जेठ, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । आज सम्पन्न मतगणना परिणामअनुसार प्रमुखमा आठ हजार ७९९ मतका साथ डा दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा आठ हजार ४५५ मत प्राप्त गरी रेणुकुमारी महतो निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

प्रमुख र उपप्रमुख दुवै पदमा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका छन् । प्रमुखमा विष्णु योञ्जन लामाले पाँच हजार ६२७ र उपप्रमुखमा जनकदुलारी साहले पाँच हजार ४९० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले पुष्टि गरे।

गौशालासँगै अब परिणाम घोषणा भएका स्थानीयतहको सङ्ख्या जिल्लामा १३ पुगेको छ । जिल्लामा अब जलेश्वर र भङ्गाहा नगरपालिकाको मात्र परिणाम घोषणा हुन बाँकी रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचन भएपछि आज एक सातापछि गौशालाको परिणाम घोषणा भएको हो ।