प्रदेश 1

झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले


९ जेठ, दमक । झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे ।

नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा  निवर्तमान  पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए ।  कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी भएकी छिन् ।  उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पर्शुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त गरेका थिए।

सात वटा वडा रहेको कमलमा १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा (एकीकृत समाजवादी)का अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई, ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भट्टराई र वडा नं ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए। ३७ हजार ९५० मतदातामध्ये निर्वाचनमा भने २६ हजार २४२ मत खसेको थियो ।