पर्यटन/संस्कृति

मूर्ति हेर्न विश्वका पर्यटक आकर्षित गर्नुपर्छ : मन्त्री आले

२४ जेठ, काठमाडौँ । मन्दिर पुनःनिर्माणको आज शिलान्यास गर्र्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले अरूभन्दा भिन्न स्वरुपको विश्वरुप मन्दिर पुनःनिर्माण गरी देश विदेशका पर्यटकका लागि आकर्षण गर्न सकिने बताए । कामेश्वर र कामेश्वरी आलिङ्गन गरेको अवस्थामा रहेको मूर्ति भएकाले यस्तो मूर्ति हेर्न देश विदेशका धार्मिक पर्यटकको यहाँ भीड लाग्ने उनको भनाइ थियो ।

“पशुपति क्षेत्रमा बग्ने पानीलाई स्वच्छ बनाउन मैले पहिले पनि कोषलाई निर्देशन दिएको थिएँ, पशुपति क्षेत्रमा रहेको क्रियापुत्रीका लागि जाडोमा तातो र गर्मीमा चिसो पानीको व्यवस्था गर्न पनि मैले निर्देशन दिइसकेको छु, कोषले यसको कार्यान्वयन गरोस्, पशुपति क्षेत्रको वाग्मतीलाई कसरी स्वच्छ बनाउने भन्ने विषयमा यही जेठ २९ गते हुने कोष सञ्चालक परिषद्को बैठकमा छलफल हुनेछ,” मन्त्री आलेले भने।

पशुपति क्षेत्रको ५३४ रोपनी जग्गामध्येमा अतिक्रमण भएर ५०६ रोपनी मात्र बाँकी रहेकाले अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल गर्ने उनको प्रतिबद्धता व्यक्त गरे । नेपाल–भारत मैत्री पशुपति धर्मशाला भक्तजनका लागि निर्माण गरिएकाले यहाँ बतास कम्पनीलाई होटल चलाउन नदिने मन्त्री आलेको भनाइ छ । कोषको नाममा गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले अतिक्रमणकारीलाई कार्बाही गरिने कोषले जनाएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले आर्थिक वर्ष २०७०र७१ देखि पशुपतिलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखी काम अघि बढाइएको जानकारी दिए। साँस्कृतिकसँगै आर्थिक रुपान्तरणको लक्ष्यले कोषलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको उल्लेख गर्दै उनले यसै आर्थिक वर्षमा गुरुयोजना निर्माण सम्पन्न हुने जानकारी दिए ।

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले विश्वरुप मन्दिर स्वीकृत ड्रइङ, डिजाइनअनुसार नै पुनःनिर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । सम्झौतामा तोकिएको समय अगावै काम सन्पन्न गरी खरिद कानुनअनुसार पुरस्कार लिन पनि उनले आह्वान गरे।

“बनारसमा विश्वनाथ मन्दिरलाई आमूल परिवर्तन गरिएको छ, त्यहाँ यहाँकै स्वरुपमा पशुपतिनाथको पनि मन्दिर रहेछ, मुस्लिम समुदायको मस्जिद पनि त्यहाँ रहेछ, नेपालमा अहिलेसम्म पशुपति क्षेत्रमा अन्य समुदायको अतिक्रमण नभएकाले यसको महत्व विश्वमै छ,” सचिव न्यौपानेले भने।

कोषका सदस्यसचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रका ८१८ सम्पदामध्ये भूकम्पले ९७ वटामा क्षति गरेको जानकारी दिर्दै ६४ वटाको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए । विश्वरुप मन्दिर भूकम्पले भत्किएपछि सुरक्षित रुपमा राखी सात वर्षपछिमात्र पुनःनिर्माणमा सुरु गर्न सकिएको उनले बताए।

कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले मन्दिर पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन भएको बताए । उनले मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि रु ४५ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत मन्दिर पुनःनिर्माणको ठेक्का भएको छ ।

काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले पशुपति मूल मन्दिरअघिको ढुङ्गेधारा रहेको स्थानमा पहिले वडा कार्यालय रहेको उल्लेख गर्र्दै विसं २०५९ अधिग्रहणका क्रममा भत्काइएकाले बनाउने व्यवस्था गरिदिन माग गरे ।