प्रदेश 2

पत्रकारसम्बद्ध संस्थामा नयाँ नेतृत्व

१९ असार, महोत्तरी । महोत्तरीमा पत्रकारसम्बद्ध संस्थामा नयाँ नेतृत्व स्थापित हुने क्रम छ । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको कार्यवाहक अध्यक्षले पदबहाली गरेलगत्तै बर्दिबास नगर पत्रकार सञ्जाल (महोत्तरी)को नेतृत्व पनि फेरिएको हो ।

महासङ्घ महोत्तरी शाखाका उपाध्यक्ष हेमकुमारी बराल (सुनिता)ले शुक्रबार कार्यवाहक अध्यक्षको पदबहाली गरेका थिए । शनिबार सञ्जालको अध्यक्षको जिम्मेवारी २५ वर्षीय युवा पत्रकार ललनकुमार मण्डलले सम्हालेका छन् । उनी महासङ्घ महोत्तरी शाखाको कार्यसमिति सदस्य पनि हुन ।

महासङ्घको जिम्मेवारीबाट राजीनामा नगरी अध्यक्ष कमलेश मण्डलले गत स्थानीय तह निर्वाचनमा जिल्लाको मटिहानी नगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)बाट प्रतिस्पर्धा गरेका थिए। महासङ्घ केन्द्रीय समितिले स्थानीय तह चुनावमा उम्मेदवार भएका मण्डललाई पदमुक्त गरी खुला उपाध्यक्ष बराललाई कार्यवाहक अध्यक्ष तोकेपछि शुक्रबार उनले पदबहाली गरेका हुन् ।

त्यसैगरी सञ्जालका अध्यक्ष विक्रमप्रसाद रौनियारले समय दिन नसकेको असमर्थता जनाई दिएका राजीनामा शनिबार सम्पन्न सञ्जालको वार्षिक साधारणसभाले स्वीकृत गरी मण्डललाई उक्त जिम्मेवारी दिएको हो । उनलाई शनिबार नै निवर्तमान अध्यक्ष रौनियारले पद हस्तान्तरण गरेका छन् । महासङ्घ महोत्तरी शाखामा जिल्लाका कार्यरत ४१ र सञ्जालमा बर्दिबास नगर क्षेत्रमा क्रियाशील ११ जना पत्रकार आबद्ध छन् ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । यीमध्ये पत्रकार हकहित र पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ बर्दिबास र गौशाला नगरपालिकामा सञ्जाल दर्ता भई सञ्चालनमा छन् ।