सुदूरपश्चिम

बैतडीका स्थानीय तहले हटाउँदै करारका शिक्षक र कर्मचारी

२२ असार, बैतडी । बैतडीका स्थानीय तहले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् ।

आगामी साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरिएको डिलाशैनीका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । वि.सं २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई काममा नआउन जानकारी गराइएको उनले बताए । गत वर्ष ३० गतेपछि नियुक्त भएकाको करार अवधि साउन १ गतेदेखि नथप्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

स्रोत सुनिश्चितता नगरी कर्मचारी भर्ना गरेको पाइएको र उनीहरुलाई तलब दिन रु ७७ लाख अपुग भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकको हकमा उनीहरुको व्यवस्थापन गर्न कार्यदल बनाइएको छ । कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा करारका कर्मचारीको व्यवस्थापन गरिने अध्यक्ष जोशीले बताए । गाउँपालिकाले दरबन्दीका कर्मचारी लोकसेवा आयोगबाट माग गर्ने नीति लिएको छ ।

यस्तै करार शिक्षकका बारेमा आगामी आर्थिक वर्षमा कसरी अगाडि बढ्ने भन्ने पालिकाले निर्णय गरिनसकेकाले विद्यालयलाई सचेत गराइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए। केही विद्यालयले करार शिक्षकको आफूखुसी करार नवीकरण गरिरहेको जानकारी प्राप्त भएको र त्यसो नगर्न नगरपालिकाले आग्रह गरेको छ । दशरथचन्द नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत करार शिक्षकको अवधि थप्ने÷नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यसतर्फ सचेत हुन सबै विद्यालयलाई आग्रह गरेको छ ।