सुदूरपश्चिम

निजी जग्गामा वृक्षरोपणले वन माथिको निर्भरता घट्दै

२२ असार, कञ्चनपुर । निजी जग्गामा वृक्षरोपणको कार्य हुन थालेपछि यहाँ वन माथिको निर्भरता कम हुँदै जान थालेको छ । बर्सेनि डिभिजन वन कार्यालयले निजी जग्गामा वृक्षरोपणका लागि बिरुवा उत्पादन गरी निःशुल्क उपलब्ध गराउन थालेपछि राष्ट्रिय वन माथिको चाप घट्दै जान थालेको हो । दाउरा, स्याउला, सोत्तरका लागि स्थानीय बासिन्दाले निजी जग्गामा लगाइएका बोटबिरुवाबाटै आवश्यकता पूर्ति गर्न थालेका छन् ।

“वन पैदावारका लागि पहिला जस्तो वनमाथि चाप छैन”, डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भने, “निजी जग्गामा बिरुवा रोप्ने, हुर्काउने र त्यसबाट लाभ लिन थालेपछि स्थानीय बासिन्दाको आयस्तरमा समेत वृद्धि भएको पाइएको छ ।” 

यस कार्यबाट हरियाली प्रवद्र्धन हुनाका साथै जलवायु परिवर्तनबाट सृजित असर न्यूनीकरणमा समेत टेवा पुगेको उनको भनाइ रहेको छ । विगतमा वितरण भई वृक्षरोपण गरिएका बिरुवा स्थानीय किसानले हुकाई रूख बिक्री गरी आर्थिक लाभ लिनाका साथै जीविकोपार्जनमा समेत सघाउ पुग्न थालेको उनले बताए । घाँस प्रजातिका बिरुवा रोपेका व्यक्तिले पशुपालन गरी लाभसमेत लिँदै आएका छन् । 

“पहिला जस्तो वनपैदावार चोरी निकासी हुने क्रम समेत छैन”, सूचना अधिकारी अवस्थीले भने, “हाल निजी जग्गामा रोपेका रूखहरुबाटै काठ उत्पादन हुने भएकाले काठ, घाँसपातका लागि स्थानीय बासिन्दा वनमाथि निर्भर छैनन् ।” 

सूचना अधिकारी अवस्थीका अनुसार निजी जग्गामा लगाइएका रूखबाट मात्रै वार्षिक रुपमा ६० हजार क्युविक फुट काठ स्थानीय किसानले बाह्य क्षेत्रमा बिक्री गर्ने गरेका छन् ।

सामुदायिक वन र राष्ट्रिय वनमा बर्सेनि हुने वृक्षरोपणको कार्यले वनको क्षेत्रफलमा समेत वृद्धि हुँदै गएको छ । जिल्लाको कूल क्षेत्रफल एक लाख ६१ हजार ७४० हेक्टरमध्ये कूल वन क्षेत्र ७८ हजार ७९७ (४८ दशमलव ७२) हेक्टर रहेको छ । त्यसमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ४० प्रतिशत, डिभिजन वन कार्यालयअन्तर्गत ६० प्रतिशत वन क्षेत्र रहेको छ । 

उत्पादनशील वनको क्षेत्रफल भने १० हजार ६५० दशमलव २७ हेक्टर रहेको छ । वृक्षरोपणका कार्यक्रम सञ्चालन भएपश्चात् तीनदेखि चार प्रतिशतले वन बढेको अनुमान गरिएको छ । वृक्षरोपणका लागि यहाँ पाँच लाखभन्दा बढी बिरुवा उत्पादन गरेर वृक्षरोपण गरी वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले डिभिजन वन कार्यालयले चालु आवमा पाँच लाख ७० हजार बिरुवा निःशुल्क रुपमा वितरणको कार्य सुरु गरेको छ ।

उत्पादित बिरुवा सामुदायिक वन, निजी क्षेत्र, राष्ट्रिय वन, सार्वजनिक जग्गामा रोप्नका लागि वितरणको कार्य भइरहेको छ । वन कार्यालयका सूचना अधिकारी अवस्थीका अनुसार डिभिजन वन कार्यालयको नर्सरीमा एक लाख ९५ हजार, ब्रह्मदेव सब डिभिजन कार्यालयमा एक लाख, छेलामा ७५ हजार, वाणीमा ७० हजार, शुक्लाफाँटा, वाणि, पिपरैया र लालझाडीमा ५०/५० हजार तथा पुनर्वासको कुण्डामा ९० हजार बिरुवा वृक्षरोपणका लागि उत्पादन गरिएका छन् । 

त्यसमध्ये केही बिरुवा स्थानीय तहको लगानीमा समेत उत्पादन गरिएका छन् । उत्पादन गरिएका बिरुवामा टिक, कोइरालो, बाँस, अमला, बेतबाँस, गोल्डमोहर, मसाला, मोरिङ्गा, भिमल, बडहर, बकाइनो, असोकलगायत रहेका छन् ।

यसैगरी वन कार्यालयले १७ हजार ३९५ फलफूलका बिरुवासमेत सर्वसाधारणलाई निःशुल्क रुपमा वितरणको तयारी गरेको छ । आँँप, लिची, कागती, कटहर, अम्बा, अनार, ड्रागन फ्रुट लगायतका बिरुवा निःशुल्क वितरणका लागि यही असार २३ र २४ गतेको समय निर्धारण गरिएको छ ।

निःशुल्क बिरुवा प्राप्त गर्नका लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि वन कार्यालयमा पेस गर्नुपर्ने छ । जिल्लामा प्रतिवर्ष चार लाखदेखि सात लाखसम्म बिरुवा उत्पादनको कार्य हुँदै आएको छ । प्रतिवर्ष निरन्तर रुपमा बिरुवा उत्पादन गरी वितरण गरी रोप्ने कार्यले अबको १० वर्षमा वन माथिको ३० प्रतिशत निर्भरता कम हुने बताइएको छ ।

“राष्ट्रिय वनको पैदावारले बढ्दो जनसङ्ख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले निजी क्षेत्रलाई बृक्षरोपण गर्न बढावा दिने कार्य हुँदै आएको छ”, सूचना अधिकारी अवस्थीले भने, “बिरुवा हुर्काएर सर्वसाधारणले थोरै मिहिनेतमा बढी प्रतिफल पाउने भएकाले पनि बिरुवा रोप्नका लागि सर्वसाधारणको सहभागिता प्रतिवर्ष बढ्दै गएको छ ।”