प्रदेश 2

नेपालगञ्जमा बकर इदको रमझम

२६ अ सार, राँझा । इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेको नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ ।

बकर इदका अवसरमा आज बिहानै नेपालगञ्जको बिपी चोकस्थित इदगाहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित सयौँको सङ्ख्यामा उपस्थित भई मुस्लिम समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन् । इदगाहमा जम्मा भएको मुस्लिम समुदायले मुलुकमा अमन चयन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुस्लिम समुदायका अगुवा मोहम्मद हारुन हलवाइले जानकारी दिए ।

बकर इदको अवसरमा नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले सम्पूर्ण देशवासीमा बकर इदको शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गरेका छन् ।

बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुस्लिम धर्मावलम्बी पनि इदगाह पुगेका थिए । नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्ट, पूर्वनगरप्रमुख डा धवलशम्शेर राणा, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो । तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी (बलि) दिनुपर्ने विशेषता छ । बकर इदमा हज र कुर्वानी अनिवार्य भएकाले मुस्लिम समुदायले इदगाहमा नमाज पढेपछि दक्षअनुसारको पशु बलि कुर्वानी दिने चलन छ ।