प्रदेश 1

नोबेलले सुरु गर्यो ‘टोकन सिस्टम’, हट्यो पूर्जी काट्न लाइन बस्नुपर्ने बाध्यता

४ साउन, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’ लागू गरेको छ । विरामी र विरामीका आफन्तलाई अस्पतालमा पूर्जी काट्दा लाइनमा उभिनुपर्ने झन्जटबाट मुक्त गर्न नोबेलले टोकन सिस्टम सुरु गरेको हो ।

   अहिले पहिलो चरणमा पुर्जी लिने ठाउँमा यो सिस्टम लागू गरिएको छ । त्यहाँ विरामीले टोकन नम्बर लिएर कुर्सीमा बस्ने गर्छन् र स्क्रीनमा आफ्नो नम्बर देखाएपछि काउन्टरमा गएर पुर्जी लिने गरेका छन् । पहिले विरामीको चापका कारण लामो समयसम्म लाइनमा उभिनुपर्ने बाध्यता थियो ।

   विरामी र विरामीका आफन्तको सहजताका लागि पूर्जी काउन्टरमा टोकन सिस्टम लागू गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । नोबेलले अन्य स्थानमा पनि यो सिस्टम लागू गर्ने तयारी गरेको छ ।

   टोकन सिस्टम लागू भएपछि पुर्जी लिन विरामीले लाइनमा उभिएर पालो कुर्नुपर्ने वाध्यताको अन्त्य भएको छ । यो सेवा सुरु भएपछि धेरै सहज भएको विरामी र विरामीका आफन्त बताउँछन् ।