प्रदेश 2

लक्ष्मीनारायण आरतीको प्रथम वार्षिकोत्सव मनाइयो

६ साउन, महोत्तरी । मटिहानी नगरपालिका–७ स्थित लक्ष्मीसागर तलाउमा लक्ष्मीनारायण आरतीको प्रथम वार्षिकोत्सव मनाइएको छ । त्रेतायुगमा रामसीताको विवाहमा यज्ञवेदि बनाइन माटो खनिएको पवित्रस्थल मानिने लक्ष्मीसागरमा बिहीबार साँझ लक्ष्मीनारायण आरतिको प्रथम वार्षिकोत्सव समारोह सम्पन्न गरिएको हो । गत वर्ष (२०७८) साउनको पहिलो बिहीबार नै लक्ष्मीसागरमा लक्ष्मीनारायण आरती प्रारम्भ गरिएको थियो ।

मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुकभरिकै राजगुठी मठको नायक मानिन्छ । मठ परिसरमै हिन्दूहरूका आराध्यदेव भगवान् लक्ष्मीनारायणको मन्दिर छ । लक्ष्मीसागरमा गत वर्ष प्रारम्भ गरिएको आरती भगवान् लक्ष्मीनारायणप्रति समर्पित गरिएको हो ।

राजकीय संस्कृत पाठशाला, याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ), लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिरमाझ अवस्थित लक्ष्मीसागरलाई मटिहानी नगरपालिकाले गत वर्ष मर्मतसम्भार, रङरोगन र घेराबेरा गरेपछि यसको महत्ता उजिल्याउने उद्देश्यले लक्ष्मीनारायण आरती प्रारम्भ गरेको हो । प्रत्येक बिहीबार साँझ आयोजन हुने आरतीमा मटिहानी नगरवासीको उत्साहपूर्ण सहभागिता हुँदै आएको राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले जानकारी दिए ।

लक्ष्मीनारायण महाआरती प्रारम्भ भएयता लक्ष्मीसागरको नियमित सरसफाइ र सम्भारमा आम चासो बढेको छ । प्रथम वार्षिकोत्सव समारोहमा महोत्तरी, धनुषा र मित्रराष्ट्र भारतका साधुसन्त सहभागी थिए । लक्ष्मीसागर नेपाल–भारत सीमा दशगजाबाट मात्र २०० मिटर उत्तर अवस्थित छ । यस सागरको गत वर्ष मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेका थिए ।

मटिहानीको महत्ता र यसको धार्मिक परिचय उजागर गर्नसके यो ठाउँ धार्मिक नगरीका रूपमा विकास गर्ने नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । नगरपालिकाले यसै अभिप्रायसाथ यहाँका मठमन्दिर, पाठशाला, तलाउ र अन्य प्राचीन सम्पदाको संरक्षण र विकासलाई उच्च महत्व दिएको मण्डलको भनाइ छ ।