कृषि

म्याग्दीमा धानबालीमा गभारोको प्रकोप

२६ साउन, गलेश्वर । म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ । धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।

धान रोप्ने समयमा रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो रोग लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन् । जिल्लाको रघुगङ्गा, मङ्गला, मालिका र बेनी नगरपालिकाका लेकाली क्षेत्रमा लगाएको बर्खे धान बालीमा गभारोको प्रकोप देखिन थालेको हो । म्यादीको रघुगङ्गा गाउँपालिकाका किसानले लगाएको धान बालीमा गभारोको प्रकोप देखिन थालेको गाउँपालिकाले जनाएको छ । 

सिँचाइ पर्याप्त हुने ठाउँमा कम र सुक्खा स्थानमा गभारोको प्रकोप बढी रहेको गाउँपालिका कृषि शाखाले जनाएको हो । रोपाइँ गर्ने समयमा पानी नपरेपछि मुस्किलले धान रोपाइँ भएका ठाउँमा गभारोको प्रकोप देखिएको कृषि प्राविधिक सविना पौडेलले जानकारी दिए ।

त्यसैगरी पश्चिमी म्याग्दीको मङ्गला गाउँपालिकामा पनि गभारोले धान बाली सखाप पार्न थालेपछि स्थानीय धानको बिरुवा नै उखेलेर गाउँपालिकामा ल्याएर फालिदिएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

बानियाँका अनुसार मङ्गलाको सिमलचौर, रणवाङ, बाबियाचौर, छिस्वाङ, सेराफाँट, पोकलगायत धान धेरै उत्पादन फाँटमा गभारोले धानबाली सखाप पारेको छ । गाँउपालिकाका जनप्रतिनिधि र कृषि प्राविधिकले स्थलगत अनुगमन गरी विषादी वितरण गरिएको र गभारो नियन्त्रणका लागि स्थानीय कृषकलाई आवश्यक जानकारी दिइएको कृषि प्राविधिक बानियाँले बताए ।

 तातो मौसम गभारो प्रजातिका किराका लागि अनुकूल हुने विज्ञको भनाइ छ । गभारोका कारण धान उत्पादनमा ह्रास आउँछ । यो समय गभारो मात्र नभई धानमा अन्य समस्यासमेत देखिने भएकाले किसान सचेत रहनुपर्ने प्राविधिकले बताएका छन् । गभारोको प्रकोप देखिएको धानको बोट पहिला रातो हुने, जरा कुहिने र बोटै सुकेर मर्ने गरेको ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए । 

कृषि प्राविधिकका अनुसार गभारो नियन्त्रणका लागि धानका बेर्नाको पातको टुप्पोमा देखिएका फूललाई पातको टुप्पो चुडेर नष्ट गर्नुपर्दछ । त्यसैगरी धान काटिसकेपछि धानको ठुटा जलाइदिने गरेमा पनि अर्को वर्ष धानमा गभारो लाग्न कम हुन्छ । प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मारिदिने हो भने पनि गभारो फैलिन नपाउने कृषि प्राविधिकको भनाइ रहेको छ ।