कर्णाली प्रदेश

निःशुल्क व्यवसायिक सेवा दिन ‘कर्णाली साझा मञ्च’

२८ साउन, कर्णाली । कर्णालीका व्यवसायीलाई निःशुल्क सेवा प्रवाह गर्न ‘कर्णाली साझा मञ्च’को प्रस्ताव गरिएको छ । क्यान महासङ्घ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष तथा सुर्खेत आइटी सेन्टरका सञ्चालक पूर्णदेव अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर सो मञ्चको प्रस्ताव गरेका छन् । कर्णालीका उद्योग तथा व्यापार व्यवसायीलाई निःशुल्क सेवा प्रवाह गर्ने उद्देश्यका साथ मञ्चको अवधारणा ल्याइएको सञ्चालक अधिकारीले बताए ।

उनका अनुसार प्रस्तावित मञ्चको संयोजकको भूमिका युवा व्यवसायी एवं सुर्खेत उद्योग वाणिज्य सङ्घ सुर्खेतका निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कालाई दिइएको छ । उक्त मञ्चबाट निःशुल्क व्यवसाय सेवा केन्द्र सञ्चालन गर्ने, व्यावसायिक परामर्श, उद्योग व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम, उद्योगी व्यवसायीलाई सीप तथा तालिम, सम्बन्धित सरकारी निकायसँगको समन्वयमा परिवर्तित सरकारी नीति–नियमको जानकारी उपलब्ध गराउनेलगायतका काम गर्ने बताइएको छ ।

सो अवसरमा सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले मञ्चको अवधारणा नवप्रवद्र्धनात्मक र प्रवद्र्धनात्मक भएको बताए । “व्यवसायीको संरक्षणार्थ एवं प्रवद्र्धनार्थ हामीले सुर्खेत व्यवसायी राहत अक्षय कोषको स्थापना गरेका छौँ”, उनले भने, “उक्त कोषमा हाल करिब रु ४२ लाख सङ्कलन भएको छ । अब हामी त्यसलाई एक करोड पु¥याउने छौँ ।” व्यावसायिक धर्मप्रति कटिबद्ध भएर उद्योगी व्यवसायीलाई समस्या पर्दा कोषबाट सहयोग हुने अध्यक्ष कँडेलको भनाइ थियो ।

सङ्घका सदस्य जनक थापाले मञ्चमार्फत गरिने सम्पूर्ण काम निःशुल्क हुने जनाउँदै सुर्खेतलाई नेपालकै उत्कृष्ट उद्योग वाणिज्य सङ्घ बनाउने उद्देश्यका साथ लागिपरेको बताए । जन्मदिनको अवसरमा सञ्चालक अधिकारीले रु २१ हजार र सङ्घका अध्यक्ष कँडेलले रु २५ हजार मञ्चको कोषमा सहयोग गरे ।

त्यसैगरी सङ्घका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेम रावत, उद्योग उपाध्यक्ष सिंहराज बम, महासचिव भद्र भण्डारी, कोषाध्यक्ष रामप्रसाद पाण्डे, सदस्य सन्तोष बराइली, अर्जुनजङ्ग शाही, जनक थापा, बुद्ध लामा, निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, पूर्वसदस्य रामप्रसाद जैशी, प्रेम भण्डारी व्यवसायी रणबहादुर खड्का, बालकुष्ण भट्टराई, पोषण खरेल, रेशम शाहीले रकम सहयोग गरे ।

उद्योगी व्यवसायीका समस्यालाई साझारूपमा समाधान गर्न साझा मञ्चको कोषमा हालै रु दुई लाख ४० हजार रकम सङ्कलन भएको सङ्घका कोषाध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । सङ्घका महासचिव भद्र भण्डारीले स्वस्थ व्यवसायमार्फत सबै व्यवसायी मिलेर निजी क्षेत्रलाई अब्बल सफल स्थापित गर्नुपर्नेमा जोड दिँदै निःशुल्क व्यवसाय सेवा केन्द्रको सञ्चालनबाट निजी क्षेत्रको उत्थानमा सहयोग पुग्ने विश्वास गरे ।