लुम्बिनी

पाल्पामा छ हजार बढी मतदाता थपिए

२८ साउन, रामपुर । पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली सङ्कलनमा नयाँ मतदाताहरुले नाम दर्ता गराए पछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । उक्त नामावलीमा साढे छ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले बताए । उनका अनुसार तीन हजार एकसय ४० महिला र तीन हजार पाँच सय ३० पुरुष थपिएका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९९ हजार छ सय ९० मतदाता रहेकामा पछिल्लो थप विवरणसहित दुई लाख छ हजार तीन सय ६० मतदाता पुगेको हो ।    यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १३ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले आयोगबाट तोकिएको समय सीमामा थप समय उपलब्ध गराउन निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ ।

सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य २० गतेदेखि स्थगित गरेको थियो । स्थानीय तह निर्वाचनसम्म करिब १० हजार मतदाताको १८ वर्ष उमेर नपुगेका कारण अन्तिम मतदाताको सूचीमा नाम समावेश भएको थिएन ।