प्रदेश 2

दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद

१० भदौ, जलेश्वर । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहान महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित नेपाल र भारतको दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद गरेको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ वेवारिसे अवस्थामा ६० बोरा चिनी प्रहरीले बरामद गरेको हो ।

रातिको मौका छोपी भारतबाट नेपाल भित्र्याउनका लागि दशगजा क्षेत्रमा जम्मा गरेको ६० वटा बोरामा ३० क्विन्टल चिनी तस्करले गन्तव्यमा पु¥याउन सफल हुन नसक्दा आज बिहान सीमा सुरक्षा गस्तीमा गएका संयुक्त प्रहरी टोलीले उक्त चिनी बरामद गर्न सफल भएको प्रहरीको भनाइ थियो । बरामद गरिएको चिनी जिल्लाको भिट्ठामोडस्थित मूल भन्सार कार्यालयमा बुझाइएको छ ।