कर्णाली प्रदेश

माओवादी कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा शर्मा

१७ भदौ, कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गोपाल शर्मा चयन भएका छन् ।

यसअघिका प्रमुख सचेतक कृष्णा शाह प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको प्रमुख सचेतकको पदमा प्रदेशसभा सदस्य शर्मालाई जिम्मेवारी दिइएको हो । माओवादी केन्द्र प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी दिए । (नेकपा) विभाजनपश्चात माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा सीता नेपाली, ठम्मर विष्ट र कृष्णा शाह नियुक्त भइसकेका छन् भने अहिले शर्मा प्रमुख सचेतक बनेका छन् ।

शर्मा र नेपाली दुवै निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए। विष्टले माओवादी प्रदेशसभा सदस्य तथा प्रमुख सचेतकबाट राजीनामा दिएर नेकपा (एमाले)मा प्रवेश गरेपछि शाहले प्रमुख सचेतकको जिम्मेवारी पाएका थिए ।