प्रदेश 1

धरान कांग्रेसद्वारा घर निर्माणमा सहयोग

१७ भाद्र, धरान । नेपाली कांग्रेसले घर निर्माणका लागि सहयोग गरेको छ ।

नेपाली कांग्रेस धरान १५ ले घरवार विहिन भएका राधा वराललाई घर निर्माण गर्न तेत्तिसहजार सातसय दश रुपैया सहयोग गरेको छ । नेपाली कांग्रेस, १५ नंं. वडा कार्यसमितिले आयोजना गरेको आय–व्यय प्रस्तुत तथा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा जिल्ला सहसचिव गणेश सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १(१) सचिव युवराज शंकर, वडा सभापति डम्बर गुरुङ लगातले उनलाई नगद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जिल्ला सहसचिव गणेश सुब्बाले संघ र प्रदेशको चुनावमा सबै एक भएर होमिनुपर्ने बताए । क्षेत्रीय सभापति सुजेन्द्र तामाङले वडामा गठन भएका सबै टोल कार्यसमितिहरुसंग प्रभावकारी समन्वय र सहकार्य गरेर टोल लक्षित कार्यक्रम र सामाजिक कार्यक्रमहरु गर्न वडाले आफै कार्यक्रम तय गर्नुपर्ने बताउंदै क्षेत्र, प्रदेश र नगरले पनि छुट्टै कार्यक्रम लिएर वडा र टोलहरुमा आउने बताए । उनले अहिले नगरले हरेक महिना रक्तदान र क्षेत्रले हरेक महिना स्वास्थ्य शिविर गरिरहेको बताउंदै सामाजिक क्षेत्रमा पार्टीले निरन्तर कार्यक्रम गर्नुपर्ने बताए ।

वडा सभापति डम्बर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा १(१) समितिका सहसचिव तथा स्थानीय तह निर्वाचनका आर्थिक समिति संयोजक हरि ओझाले निर्वाचन सम्बन्धि आय–व्यय र वडा उपसभापति डिकबहादुर तामाङले कार्यसमितिको आय–व्यय प्रस्तुत गरेका थिए भने वडा सदस्य विमला घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव राजकुमार श्रेष्ठले गरेका थिए ।