प्रदेश 1

काँग्रेस नेता कोइरालाको नाम सुनसरी-२ बाट सिफारिस

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्वर २ बाट सिफारिस भएको छ । सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उमेदवार सिफारिस गर्न गरेको परिपत्रअनुसार नेता कोइरालाको नाम प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ । कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य छन् ।

कोइरालासँगै पूर्वराज्यमन्त्री तथा सङ्घीय सांसद सिताराम मेहता र पार्टीका केन्द्रीय सदस्य राजिव ढुङगानाको नामसमेत प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए । यसै क्षेत्रबाट प्रतिनिधिसभाका लागि समानुपातिकमा दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षमा भीम पौडेल, विकास केसी र बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभा २ (क) बाट समानुपातिकमा गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्रसाद भट्टराई, विमला शिवाकोटी ढकाल, बबिता चौधरी, रामप्रसाद विक र रमेश पोखरेलको नाम सिफारिस भएको छ । सुनसरी २ (ख) बाट प्रत्यक्षमा १५ जना र समानुपातिक तर्फ २४ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा २ (ख) बाट प्रत्यक्षमा पत्रकार प्रकाश मेहता, वीरेन्द्रकुमार मेहताको नाम सिफारिस भएको छ । त्यसैगरी प्रदेश २ (ख) बाटै प्रत्यक्षमा चीरञ्जिबी बस्नेत, मोहन मेहता, महिचन्द्र साहु, रामदास कोइरी, लिलामणि सुवेदी, सुरेन्द्रप्रसाद यादव, रफुल मियाँ, ज्योति शुब्बा, मुकुन्द खतिवडा, सरला बस्नेत, लाली मेहता, हेमनारायण मेहता र कुन्दन यादवको नाम सिफारिस भएको छ । त्यसैगरी समानुपातिकतर्फ सञ्जयप्रसाद श्रेष्ठ, सहदेव मेहता, प्रकाश नेपालीलगायतको नाम सिफारिस भएको छ ।