प्रदेश 1

पहिचानकै आधारमा प्रदेश १ को नामाकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री

१८ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले प्रदेश १ को नामाकरण पहिचानको आधारमा गर्नुको विकल्प नरहेको बताएका छन् ।

लिम्बू समुदायको साझा संस्था किरात याक्थुब चुम्लुबको ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले पहिचानकै आधारमा प्रदेश १ को नामाकरण गर्नुपर्ने बताएका हुन् ।

प्रदेश १ लाई पहिचानको आधारमा नामाकरण नगर्दा इतिहाको अपमान हुने र त्यहाँको जनभावनाविपरीत हुने भएकाले पहिचानकै आधारमा नामाकरण गर्नुपर्ने उनको भनाइ थियो । प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले भने– प्रदेश १ को नामाकरण गर्दा पहिचानलाई प्रमुख आधार बनाइनु पर्छ । पहिचानको आधारमा नामाकरण गरिएन भने त्यहाँको इतिहास अपमान हुन्छ, जनताको भावनाविपरीत हुन्छ । त्यसैले पहिचानकै आधारमा नामाकरण हुनुपर्छ ।’
वर्तमान प्रदेशसभाबाट प्रदेशको नामारण अब सम्भव नरहेको भन्दै मन्त्री खापङले मंसिरमा हुने निर्वाचनमार्फत आउने नयाँ जनतमले नामाकरण गर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री खापुङले आगामी निर्वाचनमा पहिचान पक्षधरलाई जिताएर पहिचानकै आधारमा नामाकरण गर्ने वातावरण बनाउ नुपर्नेमा जोड दिए ।