प्रदेश 1

सिँचाइ अभाव र युवाको पलायनसँगै बाझिँदै जग्गा

१८ भाद्र, लेटाङ । आठ दश वर्षअघिसम्म लटरम्म तोरी र मकै फल्ने बारी अहिले सिँचाइको अभावले बाझिँदै गएका छन् । आकासे पानीको भरले थामेको मोरङको लेटाङ नगरपालिका – १ को राजारानी क्षेत्र बाझिँदै गएको हो ।

यस क्षेत्रमा धान रोप्ने चलन पहिलेदेखि नै थिएन तर तोरी र मकै चाँहि राम्रै फल्ने गरेको बताउछन् ७६ वर्षीया आशमाया मगर । खेतबारीमा राम्रो उब्जाउ हुन छाडेपछि यहाँका युवा वैदेशिक रोजगारीमा खाडी मुलुक जान थाले । “रोप्न सके कोदो त अलिअलि फल्थ्यो तर कसले रोप्ने सबै युवा विदेश गए”, आशमायाले दुःखेसो गरे ।

राजारानी क्षेत्रमा करिब एक सय २० रोपनी जग्गा छ तर अधिकांश जग्गा बाँझै छ । करिब ४० रोपनी जग्गामा केरा खेती लगाइएको छ तर त्यसको उत्पादन पनि राम्रो नभएको स्थानीय दीपक मगरले बताए । बाँकी रहेको करिब ८० रोपनी जग्गा बाँझै रहेको छ । खानेपानीको समेत समस्या भर्खरै मात्रै समाधान हुँदै गएको यस क्षेत्रमा सिँचाइको समस्या समाधान गर्न मुस्किल रहेको मगरको बुझाइ छ ।