प्रदेश 1

सुनसरीलाई सडक मानवमुक्त बनाइदै ३२ सडक मानवको उद्धार

२२ भाद्र, इटहरी । सुनसरीलाई सडक मानवमुक्त बनाउने उद्देश्यले धरानको विभिन्न स्थानबाट ३२ सडक मानवको उद्धार गरिएको छ ।

गएराति धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाको नेतृत्वमा सुरु गरिएको उद्धारमा धरानका विभिन्न सडकबाट पाँच महिलासहित ३२ जना सडक मानवको उद्धार भएको छ ।

सडकमा अव्यवस्थित तथा जोखिमपूर्ण तरिकाले बस्दै आएका युवती तथा महिलालाई उद्धार गरी माया घर नेपाल इटहरी पठाइएको छ । यसैगरी अरू उद्धार गरिएका सडक मानवमा बालबालिकालाई बालबालिका खोज तथा उद्धार केन्द्र बेलबारी र अरूलाई भिओसी इटहरी र विराटेश्वर मानवआश्रम विराटनगर पठाइएको उपप्रमुख बेघाले बताए ।

जोखिमपूर्ण तरिकाले सडकमा रहेका मानव असुरक्षित त छदैछन् आपराधिक गतिविधिमा संलग्न नहुन र बालबालिका पनि रहेकाले उनीहरूको भविष्य सुरक्षित हुन सकोस् भनेर यो उद्धार अभियान अन्तर्गत उद्धार गरिएको उपप्रमुख बेघाले जानकारी दिए ।

धरानको सडकमा बस्दै आएका सडक मानवमा विषेशगरी किशोरी तथा महिला पनि रहेकोले निकै जोखिमपूर्ण जीवनयापन गरिरहेको पाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक बुद्ध श्रेष्ठले बताए ।

धरानलाई सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत धरानको सडक मानवलाई निरन्तर उद्धार गरिने र परिवारसँग पुनःस्थापना गर्ने गरी अभियान थालिएको हो । अभियानमा उपप्रमुख बेघासहित नगर प्रहरी, इलाका प्रहरी, वडा प्रहरी, माया घर नेपालका प्रतिनिधि, बालबालिका खोज तथा उद्धार केन्द्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।