सूचना प्रविधि

नेपाल टेलिकमद्वारा दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ

३० भाद्र, काठमाण्डौ । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको छ ।

त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट
उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा
पश्चिम नेपालको अन्तिम सीमाना सम्म पुगेको छ ।

फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यू बालाशिखरस्थित
रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट
ज्याक्ती हुँदै छाङरु सम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण
दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।
अब छाङरुमा रहेका करिव १२० जति घरधुरी र ७ सय जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या
यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका
गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमाना सम्म फोरजीको पहुँच पुगेको छ ।
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत
भ्वाइस र डाटा चलाउन सकिन्छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न
कार्यालय समेत रहेका छन् ।
विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार नेपाल टेलिकमले देशका
विभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको
निरन्तरताको रुपमा छाङरुमा समेत सेवा उपलब्ध भएको छ ।