सूचना प्रविधि

तनहुँमा आन्तरिक दु्रत डाँक सेवा सञ्चालन गरिँदै

१२ असोज, डुम्रे । जिल्ला हुलाक कार्यालय तनहुँमा आवश्यक तयारीका साथ आन्तरिक द्रुत डाँक (इएमएस) सेवा सञ्चालन गरिने भएको छ ।

हुलाकमा प्राप्त भएको डाँक सोही दिनमा वितरण गर्ने गरी सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

विभागले तनहुँलगायत स्याङ्जा, पर्वत र कास्कीमा पहिलो चरणमा आन्तरिक द्रुत डाँक सेवा सञ्चालनका लागि परिपत्र जारी गरेको छ । हुलाक सेवालाई प्रतिस्पर्धी, छिटो–छरितो प्रभावकारी बनाउने उद्देश्यले इएमएस सेवा सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।

सामान्यतया तीन दिनभित्र डाँक प्राप्त हुने र सोही दिनमा दमौली बजार क्षेत्रमा डाँक वितरण गर्न सञ्चार तथा प्रविधि मन्त्रालय हुलाक सेवा विभागबाट परिपत्र भएबमोजिम सेवा सञ्चालनमा ल्याउन लागिएको कार्यालयका प्रमुख मित्रलाल भट्टराईले जानकारी दिए । आएको डाँक दर्तासहित सोही दिनमा वितरण गर्ने तयारीसहित यो सेवा सञ्चालन गरिने उनले बताए ।

“केही समयभित्र आवश्यक तयारीका साथ आन्तरिक डाँक सेवा प्रवाह गर्न लागिएको छ । आन्तरिक द्रुत डाँक सेवामार्फत पठाइएका डाँक प्रापकले उही दिनमा प्राप्त गर्न सक्छन्”, प्रमुख भट्टराईले भने । विगतमा आन्तरिक इएमएस र वैदेशिक इएमएस सञ्चालनमा थियो । तर दर्तासहितको इएमएस सेवा प्रदान गर्न लागिएको उनले बताए ।

इएमएसमार्फत पठाइएका डाँक पुगेको स्थानका कार्यालयमार्फत सोही दिन सेवा प्रवाह गर्न यो सेवा सञ्चालन गरिएको भट्टराईले बताए । प्राप्त डाँकलाई सम्बन्धित सङ्घसंस्था तथा निकायलाई छिटो र छरितो सेवा प्रवाह गर्न यो सेवा सञ्चालन गर्न लागिएको उनले बताए ।

पहिलो चरणमा तनहुँ, म्याग्दी, पवर्त र कास्कीमा यो सेवा सञ्चालनमा आएको हो । इएमएस सेवा काठमाडौँ, कास्कीमा यो सेवा प्रवाह भइरहेको उनले बताए। आन्तरिक डाँकको महसुल पहिलो ४० ग्रामसम्म एकमुष्ट रु ७०, त्यसपछि थप २० वा अंशको दुई किलोग्रामसम्म रु १५ रहेको उनले बताए । “दुई केजीको दर्ता गरिन्छ । त्यसभन्दा माथिका डाँक रजिष्ट्री पुलिन्दा (पार्सल)को रुपमा दर्ता गरी पठाइन्छ”, उनले भने ।