प्रदेश 1

विराटनगरमा सूचनाको हकसम्बन्धी छलफल

१२ असोज, विराटनगर । अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवसका अवसरमा विराटनगरमा आज ‘सूचनाको हकसम्बन्धी’ छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था, त्यसको कार्यान्वयन र प्रभावकारिताका विषयमा छलफल भएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सार्वजनिक निकायले गरेको सेवा प्रवाहका बारेमा नागरिकलाई जानकारी गराउन पनि सूचनाको हक आवश्यक रहेको बताए । 

सूचनाको हक प्रयोग गर्दा कार्यालयले गरेको गतिविधिबारेमा आम नागरिकलाई जानकारी हुने र कार्यालयको कामसमेत पारदर्शी हुने हुने भएकाले यसमा राष्ट्रसेवक कर्मचारीको ध्यान जानु आवश्यक रहेको प्रजिअ दाहालले स्पष्ट पारे । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले सूचनाको हकको व्यवस्था र ऐनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै सही सूचनाबाट काममा सहज र सरल हुने धारणा राखे । 

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र नेपाली सेनाका प्रमुख र राष्ट्रिय अनुसन्धानका निर्देशकसहित सरोकारवालको उपस्थिति रहेको थियो ।