सूचना प्रविधि

‘राससको संरचनालाई थप बलियो बनाउनुपर्छ’ : अध्यक्ष झा

४ कात्तिक, विराटनगर । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धमेन्द्र झाले जनताको करबाट सञ्चालित राससले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताए ।

रासस प्रदेश नं १ कार्यालय विराटनगरको आज बिहान निरीक्षण अवलोकनपछि निर्देशन दिने क्रममा उनले सो कुरा बताएका हुन् । उनले राससकर्मी पत्रकारहरूले सन्तुलित समाचार लेख्न जोड दिए ।

उनले सङ्घीयताको मूल मर्मअनुसार काम गर्न थप निर्देशन दिँदै राससको संरचनालाई थप बलियो बनाउन र स्थानीय तहसँग समन्वय गर्न पनि निर्देशन दिए । अध्यक्ष झाले भने, “तीन तहकै सरकारसँग समन्वय गरेर समाचार पस्कने यो राससले ग्रामीण क्षेत्र र पछाडि परेका क्षेत्र एवं वर्गको पनि समाचार सम्प्रेषणमा ध्यान दिनुपर्छ ।”

राससमा काम गर्ने पत्रकारहरूले गर्व महसुस गर्नुपर्ने भन्दै उनले भने, “ जनताले देखिने गरी काम गर्नुस् ।” सो अवसरमा रासस प्रदेश कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयको गतिविधि एवं समाचारका विषयमा जानकारी गराएका थिए ।