सुदूरपश्चिम

विगतका वर्षभन्दा फूलको माग धेरै

९ कात्तिक, दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उनले फूलखेतीबाट मनग्य आम्दानी गरेका छन् । शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रुपमा फूलखेती गरेको उनले बताए ।

“अहिले तिहारका लागि फूलको माग धेरै छ नेपालगञ्ज, धनगढी र दार्चुलाबाटसमेत फूलको माग आएको छ ।” उनले भने,“हामीले माग अनुसार दिन सकिरहेका छैनौँ ।” उनले फूल खेतीमा राम्रो सम्भावना रहेकाले व्यावसायिक रुपमा फूलखेती गरेको बताए ।

“जिल्लामा फूलखेती गर्ने किसान छैनन् हामीले पनि पहिलो पटक सुरुआत गरेका छौँ ।” उनले भने–“दुई बिघा जमिन भाडामा लिएर फूलखेती थालेका हौँ यसलाई निरन्तरता दिनेछौँ ।” उनले तिहारको समय र विवाहको सिजनमा फूल बढी खपत हुने गरेको बताए । अहिले निर्वाचनको समयमासमेत प्रचारप्रसारदेखि विजय जुलुसमा समेत फूलको माग हुने गरेको उनले बताए ।

“प्रतिकिलो पाँच सयका दरले र प्रतिमाला सयका दरले बिक्री गरिरहेका छौँ” उनले भने “एक किलो फूलको पाँचदेखि सात मालासम्म बनाउन सकिन्छ ।” दुई बिघामा फूलखेती गर्न पाँच लाख लगानी गरेको उनले बताए । “फूल बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ ” उनले भने “यहाँ उत्पादन भएको फूल काठमाडौँसम्म पठाउने लक्ष्य छ ।” उनले यसवर्ष सरकारले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग अझ बढेको बताए ।

“विगतका वर्षमा भन्दा अहिले फूलको माग धेरै छ” उनले भने “अहिले भारतबाट आउने फूल पनि रोकिएको छ त्यसले पनि फूलको माग धेरै छ ।”